राष्ट्रिय स्वतन्त्र पार्टी छत्रेश्वरी–६ मा पहिलो ऐतिहासिक वडा अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
सल्यान: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानले आफ्नो साङ्गठनिक विस्तारलाई तीव्रता दिँदै छत्रेश्वरी गाउँपालिकामा गतिविधि बढाएको छ। यसै क्रममा छत्रेश्वरी गाउँपालिका वडा नं. ६ को प्रथम ऐतिहासिक वडा अधिवेशन मिति २०८३ साल वैशाख ९ गते भव्य रूपमा सम्पन्न भएको छ। वडा सभापति अर्जुन महताराको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी सल्यानका जिल्ला सभापति प्रकाश नेपाली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा जिल्ला कमिटीका पदाधिकारी तथा पालिका तहका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अधिवेशनमा विशिष्ट अतिथिका रूपमा जिल्ला कमिटी उपसभापति टिकाराम खत्री, जिल्ला कमिटी सदस्य तथा RAT विभाग जिल्ला संयोजक लोकनाथ योगी, जिल्ला कमिटी सदस्य पुष्कर बस्नेत र छत्रेश्वरी गाउँपालिका सभापति सम्झना योगी लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो। उहाँहरूले पार्टीको 'घण्टी' अभियान र आगामी राजनीतिक योजनाका बारेमा प्रकाश पार्नुभएको थियो।
अधिवेशनले दुई जना सदस्य पछि थप गर्ने गरी ११ सदस्यीय नयाँ वडा कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। जसअनुसार नवगठित वडा समितिको सभापतिमा सन्तोष खड्का, उपसभापतिमा प्रकाश शाही र सचिवमा सन्तोष खत्री चयन हुनुभएको छ। त्यसैगरी कार्यसमितिको सह-सचिवमा सीता महतरा र कोषाध्यक्षमा डम्बरी बिकलाई चयन गरिएको छ। समितिका सदस्यहरूमा राम बस्नेत, दली महतरा, अनिता भण्डारी र ईश्वरी महतरा रहनुभएको छ।
नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै जिल्ला सभापति प्रकाश नेपालीले रास्वपाले वैकल्पिक राजनीतिक शक्तिका रूपमा जनताको विश्वास जित्दै गएको र वडा तहबाटै संगठनलाई बलियो बनाउन नयाँ समितिलाई आग्रह गर्नुभयो। नवनिर्वाचित पदाधिकारीहरूले वडास्तरका समस्या पहिचान गरी जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन्। ऐतिहासिक अधिवेशनले छत्रेश्वरीमा पार्टीको साङ्गठनिक आधारलाई थप मजबुत बनाएको जिल्ला नेतृत्वले निष्कर्ष निकालेको छ।