मध्यपूर्वमा रहेका नेपालीको उद्धार गर्न सरकार सक्षम : परराष्ट्र सचिव राई
काठमाडौं, २७ फागुन । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले मध्यपूर्वी देशहरूमा रहेका नेपाली नागरिकको उद्धार गर्न नेपाल सरकार सक्षम रहेको बताएका छन्।
इजरायल–अमेरिका र इरानबीच बढ्दो युद्धको अवस्थाका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाबारे चासो बढिरहेका बेला सरकारले आवश्यक परे उद्धार गर्न पूर्ण तयारी गरेको उनले बताए।
बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव राईले ती देशहरूमा समस्यामा परेका नेपालीको उद्धारका लागि सरकारका सबै संयन्त्र परिचालन गरिने जानकारी दिए।
मध्यपूर्वी तथा खाडी मुलुकहरूमा हाल करिब १७ लाख २९ हजार नेपाली रहेको अनुमान छ। उनीहरूको उद्धार गर्नुपर्ने अवस्था आए १९ महिना लाग्न सक्ने विषयमा यसअघि समाचार प्रकाशित भएको थियो।
उक्त विषयमा प्रतिक्रिया दिँदै सचिव राईले आवश्यक परे वैकल्पिक उपाय अपनाएर पनि नेपालीको उद्धार गरिने स्पष्ट पारे।
‘पत्रकार मित्रले १९ महिना लाग्छ कसरी उद्धार गर्ने भन्नुभयो, तर नेपालीलाई उद्धार गरेर ल्याउन अन्य विकल्प पनि छन्,’ उनले भने, ‘आवश्यक परे पानीजहाज भाडामा लिएर पनि नागरिकलाई स्वदेश फर्काउन सकिन्छ। यद्यपि हालको हाम्रो विश्लेषण अनुसार त्यस्तो अवस्था आउने सम्भावना देखिएको छैन।’
उनले समस्यामा परेका नेपाली नागरिकको उद्धार गर्नु सरकारको दायित्व भएको भन्दै आवश्यक परे जुनसुकै उपाय अपनाइने बताए।
‘उद्धार गर्न सरकार सक्षम छ कि छैन भन्ने प्रश्न उठ्छ, तर पर्यो भने अरू उपाय हुँदैन। नेपाल सरकारले जुनसुकै हालतमा पनि आफ्ना नागरिकको उद्धार गर्नैपर्छ,’ उनले भने, ‘त्यसका लागि जब आवश्यक पर्छ, सरकारले आफ्नो सक्षमता देखाउँछ।’