रुपन्देहीमा निर्वाचन निषेधाज्ञा उल्लङ्घन: ११ जना नियन्त्रणमा, ४ वटा मदिरा पसल सिल
रुपन्देही–प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन लगाइएको मदिरा बिक्रीवितरण निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा जिल्लाका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्द का अनुसार, अनुगमनका क्रममा मङ्गलबार रातिसम्म जिल्लाका विभिन्न स्थानबाट चारवटा मदिरा पसल सिल गरिएको छ।
सिद्धार्थनगर नगरपालिका–६ बुद्धचोकस्थित एक रेष्टुरेन्टबाट सञ्चालकसहित नौ जनालाई नियन्त्रणमा लिइएको छ भने मायादेवी गाउँपालिका–५ गोनाहा चोकस्थित मदिरा पसलबाट ‘दामी’ र ‘इश्क’ लेखिएका ११० बोतल मदिरा बरामद गरिएको छ।
यस्तै शुद्धोधन गाउँपालिका–७ भगलापुर र वडा नं ३ सियाभारस्थित रेष्टुरेन्टबाट दुई जना सञ्चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
जिल्लाभर मदिरा नियन्त्रणका लागि विशेष टोली परिचालन गरी अनुगमनलाई कडा पारिएको र निर्वाचन अवधिभर सबै प्रकारका मदिराजन्य पदार्थको बिक्रीवितरण तथा सार्वजनिक सेवन पूर्ण रूपमा निषेध गरिएको छ।
प्रहरीले चेतावनी दिएका छन् कि निर्वाचन आचारसंहिताविपरीत गतिविधिमा संलग्न व्यक्तिहरूलाई प्रचलित कानुन अनुसार कारबाही गरिनेछ र शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन आवश्यक कदम सशक्त रूपमा अघि बढाइनेछ।