सिरहामा मधेश ल फर्ममा बम विस्फोट, एक जना घाइते
सिरहाको सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा आज दिउँसो बम विस्फोट भएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार दिउँसो करिब ४ः१५ बजे भएको विस्फोटमा एक जना घाइते भएका छन्। बारको कार्यालय भवनको सटर भाडामा लिएर अधिवक्ता मधुसुदनप्रसाद यादवले सञ्चालन गर्दै आएको उक्त फर्ममा विस्फोट भएको प्रहरीले जनाएको छ।
विस्फोटमा फर्ममा कार्यरत सहयोगी सौरव यादवको हातको औँला र खुट्टामा सामान्य चोट लागेको छ। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विस्फोट सुतली बम हो वा अन्य कुनै प्रकारको हो भन्ने अझै यकिन भइसकेको छैन। प्रहरी नायब उपरीक्षक पालले विस्फोट भएको सटर वरपर र कोठाभित्र कुनै पर्चा–पम्प्लेट फेला नपरेको जानकारी दिए।
उनका अनुसार प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ। चोहर्वास्थित नन्दाबक्स गणबाट निष्क्रिय टोली समेत घटनास्थलमा पुगेको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
घटनापछि केही समय स्थानीय क्षेत्रमा त्रासको अवस्था सिर्जना भए पनि अहिले अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।