चाड–सुडान सीमा क्षेत्रमा ड्रोन आक्रमण: १७ जनाको मृत्यु, सीमा पूर्ण रूपमा बन्द
चाडको सीमावर्ती शहर टिने जागराबामा भएको ड्रोन आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ। चाडका सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गासिम चेरिफ महामतले बिहीबार जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिएका हुन्।
बुधबार भएको आक्रमणमा अन्य थुप्रै व्यक्ति घाइते भएका छन्। प्रवक्ता महामतका अनुसार सुडानमा जारी द्वन्द्वका बाबजुद चाडको क्षेत्रमा रहेको टिने जागराबा इलाका लक्षित गरी ड्रोन आक्रमण गरिएको हो।
चाड सरकारले यस घटनालाई गम्भीर रूपमा लिँदै सुडानी पक्षले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको आरोप लगाएको छ। महामतले सुडानले आफ्नो रक्षा तथा सुरक्षा व्यवस्था मजबुत बनाएको दाबी गरे पनि आक्रमणले क्षेत्रीय स्थायित्वमा चुनौती थपेको बताएका छन्।
यसैबीच, चाडका राष्ट्रपति महामत इद्रिस डेबी इट्नोले आकस्मिक सुरक्षा बैठक बोलाउँदै सुडानसँगको सीमा ‘पूर्ण रूपमा बन्द’ गर्ने आदेश दिएका छन्। साथै उनले सेनालाई सुडानबाट हुने कुनै पनि आक्रमणको कडा जवाफ दिन निर्देशन दिएका छन्।
चाड र सुडानबीच करिब १,३०० किलोमिटर लामो खुला सीमा क्षेत्र सन् २०२३ देखि सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बल (RSF) बीचको हिंसात्मक द्वन्द्वका कारण निरन्तर प्रभावित हुँदै आएको छ। पछिल्लो ड्रोन आक्रमणले उक्त क्षेत्रको सुरक्षा अवस्था झन् जटिल बनेको विश्लेषकहरूले बताएका छन्।