भदौ आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न जेन–जी मुभमेन्टको माग
जेन–जी मुभमेन्ट नेपालले भदौ २३ र २४ गते भएको आन्दोलनका घटनाबारे सरकारसँग प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ।
शनिबार विज्ञप्ति जारी गर्दै मुभमेन्टले आन्दोलनका क्रममा भएका हत्या, आगजनी र हिंसात्मक घटनाको सत्य तथ्य बाहिर नल्याए न्याय र दायित्व स्थापित गर्न नसकिने बताएका छन्। संगठनले पारदर्शिता र उत्तरदायित्व सुनिश्चित नगरी आन्दोलनको प्रतिवेदन सार्वजनिक नगर्ने अवस्था पूर्ण अस्वीकृत भएको पनि जनाएको छ।
सत्य लुकाएर वा दोषीलाई संरक्षण गरेर कुनै पनि राजनीतिक प्रक्रिया अघि बढाउन खोज्नु जनभावना र लोकतान्त्रिक मूल्यविरुद्ध हुने मुभमेन्टको धारणा छ।
मुभमेन्टले आइतबार माइतीघर मण्डलामा हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन सर्वसाधारणलाई अपील गरेको छ।