अमेरिकी सैनिकलाई होटलमा नराख्न इरानको चेतावनी, खाडी क्षेत्रमा तनाव बढ्दो
तेहरान । इरानले बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) का होटल सञ्चालकहरूलाई अमेरिकी सैनिकलाई बस्न नदिन चेतावनी दिएको छ । अर्ध–सरकारी फार्स समाचार एजेन्सीका अनुसार यस्तो कदमले नकारात्मक परिणाम निम्त्याउन सक्ने इरानले जनाएको हो ।
रिपोर्टअनुसार हाल संयुक्त राज्य अमेरिकाका सैनिकहरू इरानी क्षेप्यास्त्र आक्रमण र क्षेत्रीय तनावका कारण केही होटलहरूमा शरण लिइरहेका छन् । इरानले नागरिक स्थलमा विदेशी सैनिकको उपस्थिति क्षेत्रीय सुरक्षाका लागि जोखिमपूर्ण हुने बताएको छ ।
इरानका विदेशमन्त्री सय्यद अब्बास अराघचीले खाडी क्षेत्रका होटलहरूलाई अमेरिकी सैनिकलाई बस्न नदिन आग्रह गर्दै सामाजिक सञ्जालमार्फत् चेतावनी दिएका छन् । उनले अमेरिकी सैनिकहरूले आफ्नो सैन्य अड्डा छोडेर होटल तथा कार्यालयमा शरण लिँदै स्थानीय नागरिकलाई ‘मानव ढाल’ का रूपमा प्रयोग गरिरहेको आरोप लगाएका छन् ।
यसैबीच, इजरायल र अमेरिकासँगको तनावपछि इरानले विभिन्न स्थानमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र बनाएको छ । होर्मुज जलडमरूमध्य क्षेत्रमा पनि निगरानी कडा पारिएको छ, जसले अन्तर्राष्ट्रिय आवागमनमा असर पारेको छ ।
विशेषज्ञहरूले खाडी क्षेत्रमा बढ्दो सैन्य गतिविधि र यस्तो चेतावनीले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्न सक्ने बताएका छन् ।