पश्चिम एसियाली तनावप्रति नेपालको चिन्ता, शान्तिसैनिकको सुरक्षामा जोड
पश्चिम एसियामा बढ्दो तनावप्रति नेपाल सरकारले चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घका शान्तिसैनिकको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताएको छ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार लेबनानमा कार्यरत संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजको सुरक्षा सुनिश्चित गर्न नेपालले जोड दिएको हो।
हालै दक्षिणी लेबनानमा भएको आक्रमणमा तीन शान्तिसैनिक घाइते भएपछि नेपालले घटनाको निन्दा गर्दै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
नेपालले शान्तिसैनिक कहिल्यै आक्रमणको लक्ष्य बन्न नहुने उल्लेख गर्दै सबै पक्षलाई संयमित हुन, अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न र सुरक्षा परिषद्का प्रस्तावहरूको कार्यान्वयन गर्न आह्वान गरेको छ।