पश्चिम एसियामा रहेका नेपालीको सुरक्षाबारे सरकारको बैठक
परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो बैठक बुधबार परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको छ।
बैठकमा पश्चिम एसियाली मुलुकमा रहेका नेपाली नागरिकको सुरक्षा र हित संरक्षणका लागि सरकारले हालसम्म गरेका प्रयास र प्रगतिबारे समीक्षा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बैठकले नेपालीको सुरक्षा सुनिश्चित गर्न आवश्यक समन्वय जारी राख्ने, हवाई उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गर्ने तथा आपत्कालीन नियन्त्रणकक्षमार्फत सम्पर्कमा आएका नेपालीलाई सहयोग गर्ने निर्णय गरेको छ।
फागुन २१ गते अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त हवाई हमला गरेपछि पश्चिम एसियाली क्षेत्रमा तनाव बढेको छ, जहाँ रोजगारीका लागि ठूलो संख्यामा नेपाली रहेका छन्।