पोखरामा कार फेवातालमा खस्दा युवकको मृत्यु
Pokharaमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
पोखरा महानगरपालिका–६ पामे स्थित गैराको चौतरा नजिक आज बिहान करिब सवा २ बजेतिर बा १५ च १५८२ नम्बरको कार Phewa Lakeमा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्दै आएका २४ वर्षीय चालक अदित गुरुङको मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गणले जनाएको छ।
कार चालकले नियन्त्रण गुमाउँदा सवारीसाधन तालमा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहको कमाण्डमा कालिका गणबाट गोताखोरसहित २१ जनाको टोली उद्धारका लागि खटिएको थियो।
गोताखोर टोलीले अचेत अवस्थामा चालकलाई तालबाट बाहिर निकाली उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याएको थियो। तर अस्पतालले उनलाई मृत घोषणा गरेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीले क्रेनको सहायताले दुर्घटनाग्रस्त सवारीसाधनलाई घटनास्थलबाट बाहिर निकालेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।