निर्वाचन सुरक्षाबारे पृतनापति समन्वयात्मक बैठक सम्पन्न
२८ माघ, काठमाडौं — आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ। सैनिक मुख्यालय जंगी अड्डामा सुरु भएको बैठक बुधबार सम्पन्न भएको हो।
बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले पृतनास्तरमा भएका प्रभावकारी कार्यहरूको प्रशंसा गर्दै पृतनापतिहरूलाई धन्यवाद व्यक्त गरेका थिए। उनले एकीकृत सुरक्षा योजना–२०८२ अनुसार अन्य सुरक्षा निकायहरूसँग आवश्यक समन्वय गरी निर्वाचन लक्षित सुरक्षामा प्रभावकारी रूपमा खटिन निर्देशन दिएका छन्।
निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै निकायबीच सुदृढ सहकार्य आवश्यक रहेको प्रधानसेनापतिको भनाइ थियो।
बैठकमा वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, सञ्चालनमा रहेका तालिमहरूको समीक्षा तथा बन्दोबस्तीका विविध पक्षहरूमा समेत विस्तृत छलफल गरिएको सेनाले जनाएको छ।