प्रणय दिवस फरक ढंगले: लायन्स लियो क्लबका युवाद्वारा पशुपति वृद्धाश्रममा सेवा
काठमाडौं । प्रणय दिवसका अवसरमा जहाँ अधिकांश युवायुवती प्रेमी–प्रेमिकासँग रमाइरहेका थिए, त्यहीँ केही युवाले भने दिनलाई सामाजिक सेवासँग जोडेर फरक ढंगले मनाएका छन्।
Lions Leo Club of Kathmandu Nirvana का युवाहरू राजधानीस्थित Pashupati Old Age Home पुगेर वृद्धवृद्धाको सेवा गरेका हुन्। क्लबका सदस्यहरूले वृद्धवृद्धाको हेरचाह गर्दै उनीहरूसँग समय बिताए, माया साटासाट गरे र आवश्यक सहयोग प्रदान गरे।
कार्यक्रम संयोजक राजन खनालका अनुसार प्रणय दिवसलाई केवल फूल साटासाट, डेटिङ, डिस्को र क्याफेमा सीमित नगरी सामाजिक भावनासहित मनाउने उद्देश्यले सेवा कार्यक्रम आयोजना गरिएको हो।
उनले भने, “प्रणय दिवसमा फूल साटासाट गर्ने, डेटिङ जाने, डिस्को र क्याफेमा रमाउनेभन्दा हामीले सामाजिक भावनाले पशुपतिमा रहनुभएका वृद्धवृद्धाको सेवा गर्ने निर्णय गरेका हौं।”
उनका अनुसार युवाहरूको सहभागिताले वृद्धवृद्धामा उत्साह थपिएको थियो। क्लबले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।