निर्वाचन आयोगद्वारा ५३ जिल्लामा ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं, फागुन ११ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरि मतपत्र छपाइको काम तीव्र गतिमा भइरहेको छ। निर्वाचन आयोगका अनुसार ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रका मतपत्र छपाइ सम्पन्न भएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो कि अहिलेसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको छ। डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही र रोल्पा गरी ५३ जिल्लाको मतपत्र छपाइ पूरा भइसकेको छ।
मङ्गलबारसम्म ४७ जिल्लामा मतपत्र छपाइ सकिएको थियो भने आज थप ६ जिल्लाको मतपत्र छपाइ र प्याकिङ सम्पन्न भएको छ। हालसम्म १३ हजार ३२१ बाकस मतपत्र प्याकिङ भइसकेको छ। दिनमा करिब १ हजार बाकस मतपत्र प्याकिङ र १३–१५ लाख मतपत्र छपाइ भइरहेको छ।
मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक तथा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत गत पुस २२ गतेदेखि सुरु भएको हो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छापिएको थियो।
समानुपातिक प्रणालीअन्तर्गत माघ १३ गते दुई करोड ८ लाख ३० हजार मतपत्र छपाइ र प्याकिङ सकिएको थियो। प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने छ र माघ १६ गतेदेखि यसको छपाइ सुरु भइसकेको छ।
यो तयारीले निर्वाचनका दिन मतदाता सबै निर्वाचन क्षेत्रमा सहज मतदान गर्न सक्ने सुनिश्चितता दिएको आयोगले जनाएको छ।