भोजपुरमा राष्ट्रियस्तरको भलिबल प्रशिक्षण केन्द्र बन्दै
भोजपुर नगरपालिका–४ दावाँमा अवस्थित कृष्णलक्ष्मी–लक्ष्मी स्पोर्ट्स कम्प्लेक्सलाई भलिबल तथा अन्य इन्डोर्स खेलका लागि राष्ट्रियस्तरको प्रशिक्षण केन्द्रका रूपमा विकास गरिने भएको छ। करिब १२ वर्षअघि निर्माण सुरु गरिएको उक्त कम्प्लेक्सलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन गर्ने तयारी गरिएको हो।
करिब दुई करोड रुपैयाँ लागतमा निर्माण गरिएको कम्प्लेक्सलाई प्रभावकारी रूपमा उपयोग गर्दै प्रशिक्षण केन्द्रका रूपमा अघि बढाइने नेपाल भलिबल सङ्घ का महासचिव रोशन श्रेष्ठले जानकारी दिए। उनका अनुसार राज्यको लगानीमा निर्माण भएको संरचनालाई दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन अपरिहार्य छ।
महासचिव श्रेष्ठले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसारको बजेट समयमै प्राप्त नहुँदा केही संरचनाको निर्माणमा ढिलाइ भएको उल्लेख गरे। उनले पूर्णता र दीर्घकालीन सञ्चालनका लागि राज्यको निरन्तर सहयोग आवश्यक रहेको बताए।
‘राष्ट्रिय भलिबल सङ्घले यहाँ आवासीय भलिबलसहित अन्य खेलका प्रशिक्षण केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको छ,’ उनले भने, ‘भलिबल नेपालको राष्ट्रिय खेल भएकाले यसको दिगो विकासका लागि विशेष पहल गरेका छौँ। दावाँस्थित कृष्णलक्ष्मी स्पोर्ट्स कम्प्लेक्सलाई खेल प्रशिक्षण केन्द्रका रूपमा विकास गर्नु हाम्रो प्रमुख उद्देश्य हो।’
आवासीय प्रशिक्षण सञ्चालनका लागि सङ्घले एक जना योग्य प्रशिक्षकको व्यवस्था गर्ने जनाएको छ। यस केन्द्रमार्फत स्थानीय तथा प्रदेशस्तरका प्रतिभावान खेलाडीलाई व्यवस्थित प्रशिक्षण प्रदान गरिनेछ। भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास लिइएको छ।
खेल क्षेत्रको विकासका लागि स्वर्गीय माधवप्रसाद श्रेष्ठले १० रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि यहाँ कम्प्लेक्स निर्माण गरिएको महासचिव श्रेष्ठले जानकारी दिए।
यसैबीच, सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले कम्प्लेक्सको स्थलगत अनुगमन गरेका छन्। उनले भौतिक अवस्था, सम्भाव्यता तथा आवश्यक सुधारका विषयमा चासो व्यक्त गर्दै केन्द्र सञ्चालनका लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घबीच सहकार्य आवश्यक रहेको बताए।
भलिबलका मुख्य प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद् का तालिम प्रशिक्षक एवं उपनिर्देशक जगदीशप्रसाद भट्टले संरचना पूर्ण रूपमा सम्पन्न भए भलिबलसहित अन्य इन्डोर्स खेलका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सकिने बताए। पहाडी क्षेत्रमा प्रशिक्षण लिएका खेलाडीले उत्कृष्ट क्षमता प्रदर्शन गर्न सक्ने उनको भनाइ छ।
स्थानीयवासी उत्तम खड्काका अनुसार प्रशिक्षण केन्द्र सञ्चालनले जिल्लामा खेलकुद गतिविधि वृद्धि हुनुका साथै युवालाई अनुशासित र स्वस्थ जीवनतर्फ प्रेरित गर्नेछ। लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको संरचनालाई पुनर्जीवन दिनु भोजपुरको खेलकुद विकासका लागि नयाँ आशा भएको उनको धारणा छ।