महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा चहलपहल बढ्यो
काठमाडौं — महाशिवरात्रि पर्व नजिकिँदै जाँदा पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुसन्त तथा स्वदेश–विदेशबाट आएका भक्तजनको उल्लेख्य चहलपहल देखिएको छ। देशका विभिन्न जिल्ला र भारतलगायत अन्य मुलुकबाट आएका साधुसन्त र श्रद्धालु भक्तजनका कारण पशुपति क्षेत्र मेलामय बनेको छ।
पर्वको अवसरमा निःशुल्क स्वास्थ्य शिविर, भोजन सेवा, खानेपानी तथा चिया वितरणजस्ता सेवामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्। केही संस्थाले सेवा सुरु गरिसकेका छन् भने केही तयारीको चरणमा छन्।
महाशिवरात्रिको व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारी स्थलगत रूपमा खटिएका छन्। हंसमण्डप क्षेत्रको अनुगमनका क्रममा कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले यस वर्ष विशेष गरी सरसफाइमा ध्यान दिइएको जानकारी दिए। पशुपति क्षेत्रमा आउने साधुसन्त तथा भक्तजनको सहज व्यवस्थापनमा कोष सक्रिय रहेको उनको भनाइ छ। यस वर्ष चार हजारदेखि चार हजार ५०० सम्म साधुसन्त आउने अनुमान गरिएको कोषले जनाएको छ, जुन गत वर्षको तुलनामा बढी हो।
यद्यपि, पशुपति क्षेत्रमा सेवा दिइरहेका स्वयंसेवी संस्थाका अनुसार अघिल्लो दिनसम्म भक्तजनको उपस्थिति विगत वर्षभन्दा केही कम देखिएको छ। हंसमण्डपमा भोजन सेवा सञ्चालन गरिरहेका विनोद लीला अग्रवालले यस वर्ष प्रारम्भिक दिनमा अपेक्षाकृत कम भक्तजन आएको बताए। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण आवागमनमा कमी आएको हुनसक्ने उनको अनुमान छ।
महाशिवरात्रिका लागि पशुपति क्षेत्रलाई विशेष रूपमा फूलमालाले सिँगारेर आकर्षक बनाइएको छ।
आर्यघाट र राममन्दिर क्षेत्रको वाग्मती किनारमा सरसफाइ
‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको वाग्मती सफाइ महाअभियानको ६६६औँ हप्ताको सफाइ कार्यक्रम पशुपति क्षेत्रस्थित राममन्दिरमुनिको वाग्मती नदी किनारमा सम्पन्न भएको छ। महाशिवरात्रिको तयारीस्वरूप राममन्दिर, आर्यघाट तथा आसपासका नदी किनार क्षेत्रमा विशेष सरसफाइ गरिएको हो।
सफाइ कार्यक्रममा कोषका सञ्चालक परिषद् सदस्य रामेश्वर सङ्गत, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, महानगर वातावरण विभाग प्रमुख सरिता राई, टेकु शाखा प्रमुख मीनबहादुर थापालगायत कर्मचारी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।
आजको सफाइ अभियानबाट करिब १८ मेट्रिकटन कुहिने र नकुहिने फोहर संकलन गरी व्यवस्थापन गरिएको जनाइएको छ।
महाशिवरात्रि नजिकिँदै जाँदा पशुपति क्षेत्रमा सुरक्षादेखि सरसफाइ र सेवासुविधासम्मका तयारीलाई तीव्र पारिएको सम्बन्धित निकायले जनाएको छ।