सल्यानमा ३१औँ जनयुद्ध दिवस भव्य रूपमा सम्पन्न: 'गुलाफ' चिन्हमा मतदान गर्न नेताहरूको अपील
सल्यान । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) सल्यानले जिल्लाका तीन स्थानीय तहमा ३१औँ महान जनयुद्ध दिवस भव्यताका साथ मनाएको छ। छत्रेश्वरी, बागचौर, कुमाख, र दार्मा गाउँपालिकाका विभिन्न स्थानमा आयोजित छुट्टाछुट्टै शुभकामना आदान-प्रदान तथा जनभेटघाट कार्यक्रमले जिल्लामा पार्टीको बढ्दो प्रभाव र जनलहरलाई थप प्रस्ट पारेको छ।
विभिन्न स्थानमा जनभेटघाट र उत्साह
दिवसका अवसरमा छत्रेश्वरी गाउँपालिकाको वडा नं. ३ झिम्पेको पेदिखोला, बागचौर नगरपालिका वडा नं. ६ हिमचौर, कुमाख गाउँपालिका-६ को पिमकाटिया र दार्मा गाउँपालिका-५ को जलेखर्कमा विशेष कार्यक्रमहरू सम्पन्न भएका छन्। ती कार्यक्रमहरूमा सहिद परिवार, घाइते योद्धा तथा स्थानीय जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो।
नेतृत्वको सम्बोधन र राजनीतिक प्रतिबद्धता
छत्रेश्वरीमा आयोजित कार्यक्रममा पार्टीका समानुपातिक उम्मेदवार कमरेड सीता शाह खड्का (पूर्णिमा), जिल्ला इन्चार्ज तेजबहादुर खड्का (अनिल सी), जिल्ला सेक्रेटरी भीम भारती (भीमसेन सी) लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो।
त्यस्तै, कुमाख गाउँपालिकाको पिमकाटियामा प्रदेश इन्चार्ज आधार सी र समानुपातिक उम्मेदवार बन्दु चन्द, बागचौरको हिमचौर साथै दार्माको जलेखर्कमा प्रतिनिधि सभा उम्मेदवार असल क्षेत्री र केन्द्रीय सदस्य मदन चन्दको नेतृत्वमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

'गुलाफ' चिन्हमा मतदान गर्न अपील
कार्यक्रमका वक्ताहरूले जनयुद्धकै जगमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै यसका उपलब्धिहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्न माओवादीकै नेतृत्व आवश्यक रहेको बताए। केन्द्रीय सदस्य भीम भारतीले जनयुद्धलाई युगान्तकारी परिवर्तनको सुरुवात भएको र जनयुद्धकै जगमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गर्दै जनयुद्धका बाँकी कार्यभार पूरा गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवारहरूलाई विजयी गराउन गुलाब चिन्हमा मतदान गर्न आम जनतालाई आग्रह गर्नुभयो।
संगठन सुदृढीकरण र बढ्दो प्रभाव
विशेषगरी छत्रेश्वरीको वडा नं ३ र कुमाखको वडा नं ६ मा देखिएको उत्साहजनक जनसहभागिताले सल्यान जिल्लामा (माओवादी) आफ्नो प्रभावलाई तीव्र रूपमा विस्तार गर्दै लगेको संकेत गरेको छ। जनयुद्ध दिवसको यो अवसरलाई पार्टीले जनतासँग प्रत्यक्ष संवाद, संगठन सुदृढीकरण र आगामी चुनावी रणनीतिको रूपमा उपयोग गरेको देखिन्छ।
