पशुपतिमा प्रहरीलाई आक्रमण गरेको आरोपमा एक जना पक्राउ
महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिरमा सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई आक्रमण गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भएर काठमाडौँ–१३ चाँगल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ छन् ।
पशुपतिनाथ मन्दिर परिसरको बारमा बसेर उनले प्रहरी जवानलाई लात्ताले प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि प्रहरीले आरोपीको खोजी गरेको थियो । श्रेष्ठलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए ।
श्रेष्ठले लात्ताले प्रहार गरेपछि प्रहरीले पनि उनलाई लाठीले कुटेर बारबाट हटाएको भिडियोमा देखिन्छ । मंगलबार प्रहरीले सूचना प्रकाशन गरेर युवक पहिचानका लागी नागरिकसँग सहयोग मागेको थियो ।