इरानी युवाको साहस दमनभन्दा शक्तिशाली, शिरिन एबादीले नेपाली युवालाई सक्रिय हुन आग्रह गरिन्
काठमाडौँ — नोबेल शान्ति पुरस्कार विजेता तथा मानवअधिकार अभियन्ता शिरिन एबादीले इरानमा प्रदर्शनरत युवाको साहसलाई सत्ताको दमनभन्दा शक्तिशाली भएको भन्दै जनताले हार नमान्ने दृढता व्यक्त गरेकी छन्। उनले भनेकी छन् कि लामो समयदेखि इरानमा दमन, विभेद र गरिबी व्याप्त छ, तर युवाहरूको सक्रिय सहभागिताले परिवर्तन सम्भव छ।
इरानी युवाहरूले सानो उमेरदेखि राजनीतिमा चासो राख्दै, सरकारका गतिविधि निगरानी गर्दै, प्रश्न सोध्दै र परिवर्तनको माग गर्दै आएको एबादीले बताइन्। उनले नेपाली युवालाई पनि प्रणालीभित्र प्रवेश गरी नेतृत्वदायी भूमिका लिन, सक्रिय भएर भविष्य निर्माणमा योगदान दिन सुझाव दिइन्।
एबादीले इरानमा सुरक्षा बलको दमन, हिरासतमा मृत्यु र आन्दोलनमाथि दमनको घटनाहरू स्मरण गर्दै भने, “हाम्रो युवापुस्ता मौन बसेका छैनन्, उनीहरू अझै बोलिरहेका छन् र संगठित छन्।” उनले सेप्टेम्बर २०२२ मा थोरै कपाल देखिएको मुद्दामा पक्राउ परेकी युवतीको मृत्युपछि सुरु भएको आन्दोलनको घटना पनि उल्लेख गरिन्।
नेपालमा भएको जेनजी आन्दोलनप्रति पनि उनले सम्मान व्यक्त गर्दै भनेकी छन्, “तपाईंहरूको देशमा युवाहरूको आवाजले प्रभाव पारेको छ। राजनीतिक परिवर्तन भयो र मध्यावधि निर्वाचनको अपेक्षा गरिएको छ।”
शिरिन एबादीले मात्र नारा लगाएर नभई प्रणालीभित्र सहभागी भई समाधान प्रस्ताव गर्न, नयाँ दल गठन गर्न र अग्रपंक्तिमा उभिएर नेतृत्व दिन नेपाली युवालाई आग्रह गरिन्। उनका अनुसार मतदान, सक्रिय राजनीतिक सहभागिता र नेतृत्वदायी भूमिका नै स्थायी परिवर्तनको आधार हो।