मोरङमा १ करोड ८१ लाख बढीको अवैध कपडासहित दुई वटा ट्रक नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय मोरङले राजस्व चुहावटको आशङ्कामा १ करोड ८१ लाख रुपैयाँभन्दा बढी मूल्यको लत्ताकपडा र दुई वटा ट्रक नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले माघ आइतबार बेलुका ५ बजे विराटनगर महानगरपालिका वडा नं. १४ स्थित रानी–रोडशेष सडक खण्डबाट ती ट्रकहरू नियन्त्रणमा लिएको हो। भारतबाट नेपालतर्फ आउँदै गरेका ट्रकहरूमा बिल विजकभन्दा बढी सामान रहेको र न्यून मूल्याङ्कन गरी राजस्व चुहावट गरेको भेटिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा प्र ३–०१–००५ ख ९४२५ नम्बरको ट्रक र चालक सिन्धुपाल्चोक बाह्रबिसे–९ का ४९ वर्षीय ऋषिराम पौडेल तथा प्र ३–०१–००६ ख १३०८ नम्बरको ट्रक र चालक रामेछाप मन्थली–१० का ३७ वर्षीय कुमार बुढाथोकी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार बरामद गरिएका लत्ताकपडा तथा सामानहरूको कुल बजार मूल्य १ करोड ८१ लाख २६ हजार ८७ रुपैयाँ बराबर रहेको छ।
प्रहरीले नियन्त्रणमा लिएका दुवै ट्रक, चालक र सामानहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरी पठाइएको जानकारी दिएको छ।