हराएका ५३ वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समय र स्थानबाट चोरी भएका ५३ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। कार्यालयमा आयोजित एक कार्यक्रमका बिच प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले ३१ वटा मोटरसाइकल र २२ वटा स्कुटर धनीहरूलाई जिम्मा लगाएका हुन्।
प्रहरीका अनुसार काँडाघारी, स्वयम्भू, दरबारमार्ग, चापागाउँ, नयाँ बसपार्क, बालकुमारी र थानकोट लगायतका क्षेत्रबाट यी सवारी साधन बरामद गरिएका थिए। फेला परेका कतिपय सवारी साधनमा चोरले नक्कली नम्बर प्लेट राखेर चलाइरहेको पाइएको थियो। चालु आर्थिक वर्षको साउन यता मात्रै ट्राफिक प्रहरीले २९६ वटा चोरीका सवारी साधन धनीलाई बुझाइसकेको छ।
प्रहरीले सवारी चोरीमा संलग्न २९ जनालाई पक्राउ गरी कारबाहीका लागि विभिन्न वृत्तमा पठाएको जानकारी समेत दिएको छ।
सवारी साधन फिर्ता पाएपछि खुसी हुँदै धनीहरूले सामूहिक रूपमा प्रहरीलाई धन्यवाद दिएका थिए। एसएसपी अधिकारीले सवारी साधन चोरीबाट जोगाउन एकान्तमा पार्किङ नगर्न र ह्यान्डल लक, डिस्क लकका साथै जिपिएस प्रणाली जडान गर्न सुझाव दिएका छन्।
यदि सवारी साधन हराएमा तत्काल ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको १०० मा खबर गर्न समेत उनले आग्रह गरे।