जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा महाशिवरात्रिमा १३ बुँदे सुरक्षा अनुरोध जारी
काठमाडौं — महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थ आउने भक्तजन तथा उनीहरूको सामानको सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रहरी परिसर काठमाडौँले १३ बुँदे अनुरोध जारी गरेको छ।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार चोरी तथा लुटपाटका सम्भावित घटनालाई मध्यनजर गर्दै भक्तजनलाई बहुमूल्य गरगहना नलगाउन तथा महत्त्वपूर्ण र महँगो सरसामान साथमा नल्याउन आग्रह गरिएको छ।
प्रहरीले मन्दिर परिसरमा झोला नल्याउन, पशुपति क्षेत्रको मापदण्डअनुसार प्लास्टिकका झोला, कप, प्लेटलगायत निषेधित सामग्री प्रयोग नगर्न तथा दूध, गङ्गाजलजस्ता सामग्रीका लागि फुट्ने काँचका भाँडा प्रयोग नगर्न अनुरोध गरेको छ।
त्यसैगरी, भक्तजनको सुविधाका लागि तोकिएका कक्षमा जुत्ताचप्पल राखेर मात्र मन्दिर प्रवेश गर्न र दर्शनपछि छिटोभन्दा छिटो परिसर बाहिर निस्केर भीड व्यवस्थापनमा सहयोग गर्न आग्रह गरिएको छ।
मन्दिर प्राङ्गणभित्र मोबाइल फोन, क्यामरालगायत उपकरण प्रयोगमा निषेध गरिएको छ। छालाका सामान, जुत्ताचप्पल, ज्याकेट, कम्मरपेटी लगाएर मन्दिर प्रवेश गर्न नपाइने भएकाले त्यस्ता सामग्री तोकिएको सुरक्षित स्थानमा राखेर मात्र दर्शन गर्न प्रहरीले सचेत गराएको छ।
प्रहरीले पाकेटमारबाट सतर्क रहन, आफ्नो सामानको सुरक्षा आफैं गर्न तथा कुनै तीर्थयात्री अस्वस्थ भएमा स्वास्थ्य शिविरमा सम्पर्क गर्न अनुरोध गरेको छ। साथै, कुनै सामान वा व्यक्ति हराएमा तुरुन्त प्रहरी शिविर वा खोजखबर कक्षमा जानकारी गराउन भनिएको छ।
मन्दिर तथा मेला क्षेत्रलाई स्वच्छ राख्न जथाभावी फोहर नगर्न, तोकिएको शौचालय प्रयोग गर्न, शारीरिक रूपमा अशक्त तथा ज्येष्ठ नागरिकलाई सहज दर्शनका लागि सहयोग गर्न पनि अपिल गरिएको छ।
प्रहरीका अनुसार मन्दिर दर्शनका लागि कुनै विशेष टिकट वा पासको व्यवस्था नरहेकोले पङ्क्तिबद्ध रूपमा दर्शन गर्न तथा अरूको अधिकार हनन हुने व्यवहार नगर्न सबैलाई आग्रह गरिएको छ।