नेपाल एपीएफ अस्पतालको २४औँ वार्षिकोत्सव सम्पन्न, विपद्मा खेलेको भूमिकाको प्रशंसा
काठमाडौं — नेपाल एपीएफ अस्पतालले प्राकृतिक विपद् तथा आपतकालीन अवस्थाहरूमा प्रभावकारी भूमिका खेलेको भन्दै सराहना गरिएको छ। अस्पतालको २४औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले अस्पतालले भूकम्प, कोभिड महामारी तथा अन्य आपतकालीन अवस्थाहरूमा जनस्वास्थ्यलाई सर्वोपरि ठानी सेवा प्रदान गर्दै आएको बताए।
उनले अस्पताल उपचार सेवामा मात्र सीमित नरही इमर्जेन्सी, प्याथोलोजी, रेडियोलोजी, डाइलेसिस तथा प्रसूति सेवाजस्ता आधुनिक स्वास्थ्य सेवामा विस्तार हुँदै गएको उल्लेख गरे। सेवा प्रवाहलाई अझ सहज, प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक सुधार र प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा महानिरीक्षक अर्यालले वर्षभरि उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा अस्पताललाई सहयोग पुर्याउने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलाई कदरपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।
स्वास्थ्य सेवा केवल पेसा नभई मानवताको सेवा, करुणाको अभ्यास र राष्ट्रप्रतिको गहिरो प्रतिबद्धता भएको उल्लेख गर्दै उनले व्यक्तिगत लाभ, पदोन्नति वा करियर केन्द्रित सोचभन्दा माथि उठेर राष्ट्र, संगठन र जनताको सर्वोच्च हितलाई प्राथमिकतामा राखी काम गर्न निर्देशन दिए।
उक्त अवसरमा अस्पतालमा ‘मडुलर अप्रेसन थिएटर’को समेत उद्घाटन गरिएको छ। कार्यक्रममा अस्पतालका प्रमुख तथा प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक डा. रूपक महर्जनलगायतले धन्यवाद ज्ञापन गरेका थिए।