पोशाक बुझ्ने क्रममा ‘चेक’ मागेपछि निर्वाचन प्रहरी आन्दोलित
गरुडामा निर्वाचन सुरक्षाका लागि भर्ना भएका निर्वाचन प्रहरीले शुक्रबार विरोध प्रदर्शन गरेका छन्। निर्वाचन ड्युटीका लागि आवश्यक पोशाक बुझ्ने क्रममा ‘चेक’ मागिएको भन्दै उनीहरूले आन्दोलन गरेका हुन्।
आन्दोलनरत निर्वाचन प्रहरीले इलाका प्रहरी कार्यालय गरुडा अगाडि रहेको बीरेन्द्र राजमार्गमा टायर बालेर प्रदर्शन गरेका थिए। सडक अवरुद्ध भएपछि केही घण्टा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको थियो। राजमार्गमा सञ्चालन हुने सवारी साधन बीच बाटोमै रोकिँदा यात्रुहरू अलपत्र परेका थिए।
आन्दोलनरत पक्षले पोशाक वितरणका क्रममा सुरक्षा अधिकारीहरूले अनावश्यक रूपमा चेक मागेर मानसिक तनाव दिएको आरोप लगाउँदै बाध्य भएर सडकमा उत्रिनु परेको बताए। उनीहरूले पारदर्शी रूपमा प्रक्रिया अगाडि बढाउन माग गरे ।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक शंकर आचार्यले निर्वाचन प्रहरीले लगाएको आरोप निराधार रहेको बताए। निर्वाचन प्रहरीसँग कुनै चेक नमागिएको उनले जानकारी दिए। केही प्राविधिक विषयमा गलत बुझाइका कारण स्थिति उत्पन्न भएको हुन सक्ने उनको भनाइ छ। समस्या समाधानका लागि छलफलमार्फत वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको उनले बताएका छन्।
घटनापछि स्थिति नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको छ। आन्दोलनकारी र प्रशासनबीच छलफल जारी रहेको तथा अवस्था बिस्तारै सामान्य बन्दै गएको प्रहरीले जनाएको छ। सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाइएको छ।