केदारनाथ डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वका अवसरमा भक्तजनको घुइँचो
काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा केदारनाथको शिरमा रहेको डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थी भक्तजनको घुइँचो लागेको छ । आइतबार मन्दिरका चारै ढोका खुला गरेर पूजा एवं दर्शनको व्यवस्था गरिएको छ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतका अनुसार भक्तजनलाई मन्दिरभित्र प्रवेश गरी महादेवको शिलामै पूजा गर्ने सुविधा दिइएको छ। शिवरात्रि पर्वका लागि आएका साधु, सन्त र बाबाहरू ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा, कम्बल र धोती प्रदान गरेर बिदाइ गर्ने व्यवस्था गरिएको छ।
यस वर्ष भारतसहित नेपालका विभिन्न ठाउँबाट करिब ४०० जना साधुसन्त एवं बाबाहरू डोलेश्वर पुगेका छन्।
साथै, महाशिवरात्रि अवसरमा सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डीश्वर, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर र कैलाशनाथ महादेवलगायतका शिवालयहरूमा पनि भक्तजनको घुइँचो लागेको छ।