त्रिभुवन विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा तस्करी गर्न खोज्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। विमानस्थलको आगमन टनेल गेटबाट करिब ११ किलो २ सय ७० ग्राम गाँजा जस्तो देखिने वस्तुसहित उनीहरूलाई शुक्रबार बिहान नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा ४३ वर्षीया समिना अख्तर बेग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद र ४४ वर्षीया अफसाना आमिर हुसैन शेख रहेका छन्। विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनीहरूको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो।
प्रहरीका अनुसार मोहम्मद जुनैद र समिना अख्तरको साथबाट ३ किलो ८ सय ७० ग्राम तथा अफसानाको साथबाट ७ किलो ४ सय ग्राम गाँजा बरामद भएको छ। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ।