प्रतिनिधिसभा निर्वाचन सुरक्षा रणनीति बनाउन सशस्त्र प्रहरीको वरिष्ठ अधिकृत सम्मेलन
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बलले सुरक्षा रणनीति तयार गर्न वरिष्ठ अधिकृत सम्मेलन आयोजना गरेको छ।
सम्मेलनमा सशस्त्र प्रहरी बलका सबै बाहिनीपतिहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए। उनीहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनलक्षित सुरक्षा रणनीतिबारे ब्रिफिङ गरेका थिए।
आईजीपी अर्यालले निर्वाचन प्रक्रियामा सशस्त्र प्रहरीले कुनै पनि राजनीतिक दलको पक्ष नलिई पूर्ण रूपमा निष्पक्ष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले निर्वाचनका उम्मेदवारहरूसँग आवश्यक समन्वय कायम राख्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन उच्च सतर्कता अपनाउन निर्देशन दिए।
फिल्डमा खटिएका कमाण्डरहरूलाई निर्वाचनलक्षित सुरक्षा कारबाहीमा आवश्यक निर्णय लिन स्वतन्त्र रहेको उल्लेख गर्दै आईजीपी अर्यालले निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीहरूलाई मर्यादित, सभ्य र व्यावसायिक व्यवहारसहित परिचालन गर्न निर्देशन दिए।
सम्मेलनमा आगामी निर्वाचनका क्रममा देखिन सक्ने सुरक्षा चुनौती, वर्तमान सुरक्षा अवस्था, कुनै पनि प्रकारको मानवीय क्षति हुन नदिन अपनाउनुपर्ने उपाय तथा अन्य सुरक्षा निकाय र सरोकारवालासँग समन्वय र सहकार्य कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विस्तृत छलफल गरिएको सशस्त्र प्रहरीले जनाएको छ।