चितवनमा हात्तीको आक्रमण र आगलागीमा आमा–छोराको मृत्यु
चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीका कारण आमा–छोराको मृत्यु भएको छ। शनिबार राति भरतपुर महानगरपालिका–२३, बेलहट्टामा भएको घटनामा २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएको हो।
स्थानीयका अनुसार राति करिब ११ बजे पूर्ण बोटेको कच्ची घरमा जंगली हात्तीले आक्रमण गर्दै घर भत्काउन थालेपछि घरधनीले धपाउन आगो बाल्ने प्रयास गरेका थिए। सोही क्रममा आगो सल्किँदा कच्ची घरमा फैलिएको प्रहरीले जनाएको छ।
आगो नियन्त्रणका लागि स्थानीयवासी र प्रहरी तत्कालै परिचालित भएका थिए र आगो नियन्त्रणमा लिइएको थियो।
घटनापछि राति नै चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, स्थानीय जनप्रतिनिधि, नयाँ गोरखा गण, मध्यवर्ती उपभोक्ता समिति र प्रहरीबीच छलफल भएको छ। छलफलमा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने, क्षतिग्रस्त घर पुनर्निर्माण गर्ने र हात्ती नियन्त्रणका लागि आवश्यक कदम चाल्ने सहमति भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया तथा मुचुल्का तयार पारिएको छ।
यस घटनाले चितवन क्षेत्रमा जंगली हात्तीको बढ्दो जोखिम र मानव–वन्यजन्तु द्वन्द्वको गम्भीर समस्या फेरि उजागर गरेको छ।