प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कांग्रेस सांसद सर्वोच्च अदालत जाने
काठमाडौं — नेपाली कांग्रेसका केही सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने तयारी गरेका छन्।
पार्टीको डेलिगेसन टोलीले भोलि बिहान १० बजे सर्वोच्च अदालतमा रिट दायर गर्ने कांग्रेस नेता श्यामकुमार घिमिरेले जानकारी दिए। उनका अनुसार वर्तमान सरकारको वैधतामाथि प्रश्न उठाउँदै दायर गरिएको मुद्दा अदालतमा विचाराधीन रहे पनि हालसम्म सुनुवाइ सुरु हुन सकेको छैन।
एमाले र कांग्रेससहितका ठूला दलहरूले वर्तमान सरकारलाई मान्यता नदिएको अवस्थामा प्रतिनिधिसभा पुनर्स्थापनाको विषय गम्भीर बनेको घिमिरेको भनाइ छ। “हामी अदालतको निर्णय मान्छौँ। तर मुद्दामा तुरुन्त पेशी तोकेर सुनुवाइ सुरु होस् भन्ने मागसहित सर्वोच्च जान लागेका हौँ,” उनले भने।
यसअघि पनि कांग्रेसका वरिष्ठ नेताहरूले संविधान र कानुनअनुसार प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेको धारणा सार्वजनिक गर्दै आएका छन्। उनीहरूका अनुसार संसदीय व्यवस्थाको रक्षा र संवैधानिक सर्वोच्चताका लागि प्रतिनिधिसभा पुनर्स्थापना अपरिहार्य छ।