अमेरिकाको भेनेजुएला आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु, मादुरो नियन्त्रणमा
२० पुस, काठमाडौं — अमेरिकाले भेनेजुएलामा गरेको सैन्य आक्रमणमा कम्तिमा ४० जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ। रिपोर्टअनुसार राजधानी काराकाससहित विभिन्न सहरमा गरिएको आक्रमणमा सर्वसाधारण र सैनिकहरू मारिएका हुन्।
शनिबार भएको आक्रमणपछि अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिई न्यूयोर्क लगेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपरेसन सफल भएको दाबी गरे पनि मानवीय क्षति नभएको उनको भनाइलाई न्युयोर्क टाइम्सको रिपोर्टले खण्डन गरेको छ।
अखबारका अनुसार, आक्रमणमा ठूलो हवाई अभियान सञ्चालन गरिएको थियो, जसमा १५० भन्दा बढी अमेरिकी विमान प्रयोग गरी भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारिएको थियो। त्यसपछि स्थल र हेलिकोप्टरमार्फत सैनिक परिचालन गरिएको जनाइएको छ।
अमेरिकी प्रशासनले मृतकको संख्या र अपरेसनबारे औपचारिक पुष्टि भने गरेको छैन। हाल भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छन्।
यसैबीच, अमेरिकी अभियोजकहरूले मादुरो र फ्लोरेसमाथि लागुऔषध तस्करीलगायतका अभियोग लगाएका छन्। आलोचकहरूले भने अमेरिकी कदमले अन्तर्राष्ट्रिय कानुन उल्लंघन भएको र क्षेत्रीय अस्थिरता बढ्ने चेतावनी दिएका छन्।