कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा ६६ प्रतिशत नयाँ अनुहार उतार्यो
काठमाडौं, ७ माघ — नेपाली कांग्रेसले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीका तर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारमध्ये ६६ प्रतिशत नयाँ अनुहार हुन्।
विगतमा पटक–पटक टिकट पाउँदै आएका प्रभावशाली नेतामध्ये धेरैले यसपटक उम्मेदवारीको अवसर पाएनन्। २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यसपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न पाएनन्। त्यस्तै, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि चुनावी प्रतिस्पर्धामा छैनन्।
देउवा पक्षमै रहेका तर अघिल्लो निर्वाचन जितेका प्रकाशमान सिंह, रमेश लेखक, मोहन बस्नेत, रामहरि खतिवडा, दीपक खड्का, दुर्लभ थापा लगायत नेताहरूले पनि यसपटक टिकट पाएनन्। तर देउवा पक्षमै रहेर पनि अनियमिततामा प्रश्न नउठेका नेताहरू विमलेन्द्र निधि र प्रकाशशरण महतलाई सभापति गगन थापाले उम्मेदवार बनाएका छन्।
कांग्रेसले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा पहिलो पटक प्रतिनिधिसभा टिकट पाउने उम्मेदवारलाई अघि सारेको छ। कोशी प्रदेशमा ताप्लेजुङदेखि उदयपुरसम्म, मधेशमा सप्तरीदेखि बारासम्म, बागमतीमा काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरू, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै क्षेत्रमा नयाँ अनुहारले कांग्रेसको प्रतिनिधित्व गर्नेछन्।
यसपटक केही निर्वाचन क्षेत्रमा भने विगतमा संघीय संसद् (प्रत्यक्ष वा समानुपातिक) मा प्रतिस्पर्धा गरिसकेका नेताहरूलाई पुनः उम्मेदवार बनाइएको छ। ती उम्मेदवारहरू विभिन्न प्रदेशका सीमित निर्वाचन क्षेत्रमा मात्र केन्द्रित छन्।
कांग्रेस नेतृत्वले नयाँ अनुहारलाई अवसर दिँदै पार्टीभित्र पुस्तान्तरण, सुशासन र विश्वासको सन्देश दिन खोजेको दाबी गरेको छ। पार्टीका अनुसार यसपटकको उम्मेदवार चयनले कांग्रेसको संगठन सुदृढीकरण र जनविश्वास पुनःस्थापनामा योगदान पुग्ने अपेक्षा गरिएको छ।