बूढीगण्डकी जलाशययुक्त आयोजना तत्काल अघि बढाउन ढकालको आग्रह
धादिङ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
धादिङ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित १०औँ धादिङ महोत्सवको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको बूढीगण्डकी आयोजना अब ढिलाइ नगरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका हुन्।
उनले नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडिपी) कम्पनी स्थापना गरिएको जानकारी दिँदै आयोजनामा स्रोतको अभाव भए निजी क्षेत्रको तर्फबाट एनडिपीमार्फत लगानी गर्न तयार रहेको स्पष्ट पारे।
नेपालमा जलविद्युत् विकासको अपार सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले जलविद्युत्को विकासले खनिज, कृषि उत्पादन तथा अन्य व्यवसायिक क्षेत्रको सम्भावनालाई समेत उजागर गर्ने बताए। उनले धादिङ जिल्लामा रहेका खनिज, कृषि तथा अन्य सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न एनडिपी तयार रहेकोसमेत जानकारी दिए।
निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समय, गुणस्तर र बजेटभित्र सम्पन्न गर्ने क्षमता राख्ने दाबी गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रप्रति विश्वास गर्न सरकारसँग आग्रह गरे।
‘गत भदौमा भएको जेन–जी आन्दोलनका क्रममा निजी क्षेत्रका उद्योग, कलकारखाना, होटल तथा व्यावसायिक प्रतिष्ठानमा क्षति पुगेको थियो । तर अधिकांश निजी क्षेत्रले ती संरचनाहरू मर्मत, सम्भार र पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइसकेका छन्,’ उनले भने, ‘यसले निजी क्षेत्रको प्रतिबद्धता र क्षमता प्रमाणित गर्छ।’
अध्यक्ष ढकालले निजी क्षेत्रमाथि भइरहेका धरपकड र व्यवसायमाथिको प्रहारले उद्यमीहरू भयभीत भएको उल्लेख गर्दै निजी क्षेत्र सधैँ उपेक्षित किन भइरहेको छ भन्ने प्रश्नसमेत उठाए।
‘निजी क्षेत्रले उत्पादन गरेको छ, पूर्वाधार बनाएको छ, सेवा दिएको छ, रोजगारी सिर्जना गरेको छ र राजस्व तिरेको छ,’ उनले भने, ‘यति योगदान हुँदाहुँदै पनि निजी क्षेत्र किन सधैँ उपेक्षित छ ?’