ललितपुरमा २ लाख ६९ हजारभन्दा बढी मतदाता, ७४ जनाको उम्मेदवारी दर्ता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर जिल्लामा कूल दुई लाख ६९ हजार २५६ मतदाता रहेका छन्। निर्वाचन कार्यालयका अनुसार तीमध्ये एक लाख ३१ हजार ५४९ महिला र एक लाख ३७ हजार ७०७ पुरुष मतदाता रहेका छन्।
जिल्लाभरका तीनवटै निर्वाचन क्षेत्रबाट कूल ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। ललितपुर क्षेत्र नम्बर १ मा ३८ हजार ८४० महिला र ३८ हजार ८९७ पुरुष गरी जम्मा ७७ हजार ७३७ मतदाता रहेका छन्। यस क्षेत्रमा विभिन्न राजनीतिक दलबाट १६ जना र १२ जना स्वतन्त्र गरी कूल २८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये तीन जना महिला उम्मेदवार रहेका छन्।
ललितपुर क्षेत्र नम्बर २ मा ४३ हजार २९८ महिला र ४५ हजार ७८४ पुरुष गरी जम्मा ८९ हजार ८२ मतदाता छन्। यहाँ राजनीतिक दलबाट १६ जना र सात जना स्वतन्त्र गरी कूल २३ जनाको उम्मेदवारी परेको छ। यस क्षेत्रमा महिला उम्मेदवारको संख्या दुई जना मात्र रहेको छ।
त्यसैगरी ललितपुर क्षेत्र नम्बर ३ मा ४९ हजार ४११ महिला र ५३ हजार २६ पुरुष गरी जम्मा एक लाख दुई हजार ४३७ मतदाता रहेका छन्। यस क्षेत्रमा कूल २३ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमा १६ जना राजनीतिक दलका र सात जना स्वतन्त्र उम्मेदवार रहेका छन्। यस क्षेत्रबाट पाँच जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा जम्मा ३१८ मतदान केन्द्र तोकिएका छन्। निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित बनाउन तयारी तीव्र पारिएको निर्वाचन कार्यालयले जनाएको छ।