सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील, सुरक्षा व्यवस्था कडा
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही जिल्लामा १५८ मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ।
जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा कूल ३१२ मतदानस्थल तोकिएका छन्। तीमध्ये १५८ मतदानस्थल अतिसंवेदनशील, १३१ संवेदनशील र २३ मतदानस्थल सामान्य समूहमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्ला सुरक्षा समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार सबै मतदानस्थलको स्थलगत अनुगमनपछि सामाजिक, राजनीतिक, भौगोलिक तथा सीमावर्ती क्षेत्रका जोखिमलाई मूल्यांकन गर्दै तीन समूहमा वर्गीकरण गरिएको हो। उनले समूहअनुसार नै मतदानस्थलको सुरक्षा व्यवस्था मिलाइने बताए।
सुरक्षा समितिको सिफारिसमा यसपटक केही मतदानस्थल तथा मतदान केन्द्र हेरफेर गरिएको जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले जानकारी दिए। उनका अनुसार आसन्न निर्वाचनमा सर्लाहीका मतदाताले ३१२ मतदानस्थलमा स्थापना गरिने ६२८ मतदान केन्द्रमार्फत आफ्नो मताधिकार प्रयोग गर्नेछन्।
निर्वाचन कार्यालय सर्लाहीका अनुसार क्षेत्र नम्बर १ मा एक लाख ३० हजार ८७१ मतदाताका लागि ७८ मतदानस्थलमा १५७ मतदान केन्द्र तोकिएको छ। क्षेत्र नम्बर २ मा एक लाख २५ हजार ३११ मतदाताका लागि ७७ मतदानस्थलमा १५८ मतदान केन्द्र निर्धारण गरिएको छ।
यस्तै क्षेत्र नम्बर ३ मा एक लाख ३४ हजार ४१२ मतदाताका लागि ७६ मतदानस्थलमा १५९ मतदान केन्द्र स्थापना गरिनेछ भने क्षेत्र नम्बर ४ मा एक लाख २१ हजार १२ मतदाताका लागि ८१ मतदानस्थलमा १५४ मतदान केन्द्र रहने निर्वाचन अधिकारी पौडेलले बताए।
आसन्न निर्वाचनमा सर्लाहीबाट कूल पाँच लाख ११ हजार ६०६ मतदाताले मतदान गर्नेछन्। तीमध्ये दुई लाख ७८ हजार ८३७ पुरुष, दुई लाख ३२ हजार ७५८ महिला र ११ जना अन्य मतदाता रहेका छन्। विसं २०७९ को निर्वाचनयता जिल्लामा २२ हजार ५९५ जना नयाँ मतदाता थपिएका छन्।