मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु
अमेरिकाको पूर्वी मिसिसिपी राज्यमा आपसमा सम्बन्धित गोलीबारीका घटनाहरूको शृङ्खलामा परी छ जनाको ज्यान गएको छ। उक्त घटनापछि शनिबार एक जना संदिग्धलाई हिरासतमा लिइएको स्थानीय अधिकारीहरूले बताएका छन्।
क्ले काउन्टीका शेरिफ एडी स्कटले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको वक्तव्यमा अलाबामा राज्यको सीमा नजिकै पर्ने वेस्ट पोइन्ट सहरमा ‘हिंसाका कारण’ धेरै निर्दोष व्यक्तिले ज्यान गुमाउनुपरेको बताए। उनका अनुसार घटनाहरू फरक–फरक तीन स्थानमा भएका थिए, जहाँ कुल छ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
शेरिफ स्कटले स्थानीय सञ्चार माध्यम डब्ल्युटिभिएसँग कुरा गर्दै तीनवटै स्थानमा भएको गोलीबारी एकआपसमा सम्बन्धित रहेको र ती घटनाबाट छ जनाको मृत्यु भएको जानकारी दिएका हुन्। उनका अनुसार घटनासँग सम्बन्धित एक संदिग्धलाई सुरक्षाकर्मीले हिरासतमा लिइसकेका छन्। सामाजिक सञ्जालमार्फत नै शेरिफ स्कटले हाल समुदायका लागि कुनै थप खतरा नरहेको स्पष्ट पारेका छन्।