बारामतीमा अजित पवार सवार चार्टर्ड विमान दुर्घटनाग्रस्त, गम्भीर घाइते
काठमाडौं । भारतको महाराष्ट्र राज्यस्थित बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ। बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको बताइएको छ।
प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा उपमुख्यमन्त्री पवार गम्भीर घाइते भएका छन्। उनी जिल्ला परिषद् निर्वाचनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए।
विमानमा अजित पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारी पनि सवार थिए। दुर्घटनामा उनीहरू सबै घाइते भएको जनाइएको छ।
बारामती आसपास विमान अवतरण गर्ने प्रयासकै क्रममा दुर्घटना भएको बताइए पनि यो क्र्यास ल्यान्डिङ थियो वा प्राविधिक खराबीका कारण दुर्घटना भएको हो भन्ने विषयमा अहिलेसम्म स्पष्ट भइसकेको छैन।
दुर्घटनास्थलबाट सार्वजनिक भएका तस्बिर तथा भिडियोमा विमानमा आगलागी भएको र बाक्लो धुवाँ उडिरहेको देखिन्छ। विमानका जलेका टुक्रा–टुक्रा चारैतिर छरिएको अवस्थामा छन्।
दुर्घटनापछि ठूलो संख्यामा स्थानीय बासिन्दा र उद्धार टोली घटनास्थलमा खटिएका छन्। स्थानीय प्रशासन, एम्बुलेन्स तथा मेडिकल टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।