काठमाडौंको मूलपानीमा गोलीसहित पक्राउ परेका १० लुटेरा सार्वजनिक
१५ माघ, काठमाडौं । काठमाडौंको मूलपानी क्षेत्रमा गोली प्रहार गर्दै लुटपाटमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलनमार्फत पक्राउ परेकाहरू सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका अधिकांश व्यक्तिको आपराधिक पृष्ठभूमि रहेको छ । उनीहरू रातिको समयमा एक्लै हिँड्ने व्यक्तिलाई लक्षित गरी लुटपाट गर्ने समूहका सदस्य रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा काभ्रेको भुम्लु गाउँपालिका–३ का २३ वर्षीय विनय तामाङ, सिन्धुली मरिण गाउँपालिका–५ का २४ वर्षीय आयन माझी, मरिण–७ का ३२ वर्षीय सविन माझी, मोरङ पथरीका २३ वर्षीय मनिस रमाइली, काभ्रेको चौरी देउराली–१ का २९ वर्षीय पेमा तामाङ र २० वर्षीय सलोन तामाङ रहेका छन् ।
त्यस्तै काभ्रेको भुम्लु–१ का १८ वर्षीय राजिब भण्डारी, रामेछाप दोरम्भा–८ का ३२ वर्षीय बिशाल तामाङ, खोटाङ घर भएका सुनचाँदी कालिगढ २८ वर्षीय बिदुर विश्वकर्मा र सिन्धुपाल्चोक लिसंखुपाखर–३ का २९ वर्षीय फुर्वा तामाङ पनि पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूको साथबाट लुटपाटमा प्रयोग गरिएका सामग्री तथा हतियारसमेत बरामद गरिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।