मिथ्या र घृणास्पद अभिव्यक्तिविरुद्ध आयोगको कारबाही
काठमाडौं, १६ माघ — निर्वाचन आयोगले मिथ्या, भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्तिहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ।
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले हालसम्म ३०२ वटा मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद सूचनाको पहिचान गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको छ।
निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी फैलाइने यस्ता सूचनाको निगरानी गर्न आयोगले निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ। सो केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन इकाई सक्रिय रहेको आयोगले जनाएको छ।
प्रवक्ता भट्टराईका अनुसार उक्त इकाईले पहिचान गरेका हानिकारक सूचनाहरू निर्वाचन आचारसंहिता २०८२, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ तथा प्रेस काउन्सिल ऐन २०४८ बमोजिम कारबाहीका लागि साइबर ब्युरो, आचारसंहिता केन्द्रीय अनुगमन समिति, प्रेस काउन्सिल र विज्ञापन बोर्डमा पठाइएको छ।
आयोगले कारबाहीका क्रममा यस्ता सूचना तथा अभिव्यक्ति हटाइने जनाएको छ। साथै निर्वाचनको मर्यादा र स्वच्छतामा आँच आउने कुनै गतिविधि देखिएमा आयोग तथा सम्बन्धित निर्वाचन कार्यालयमा लिखित, मौखिक वा विद्युतीय माध्यमबाट उजुरी दिन सकिने पनि जनाएको छ।