म्याग्दीमा स्वतन्त्र उम्मेदवार नवीन जिसीले लिए उम्मेदवारी फिर्ता
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवार बनेका नवीन जिसीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समयअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने प्रक्रियामा जिसीको मात्र उम्मेदवारी फिर्ता भएको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले जानकारी दिए।
उनका अनुसार म्याग्दीमा कुल १३ जनाको मनोनयन दर्ता भएकामा अब १२ जना उम्मेदवार निर्वाचन मैदानमा कायम छन्, जसमा सबै राजनीतिक दलका उम्मेदवार रहेका छन्।
कायम रहेका उम्मेदवारमा नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठ, नेकपा का अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोका र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का डम्मरबहादुर सुवेदी रहेका छन्।
त्यसैगरी नेकपा (माओवादी केन्द्र) का क्षेत्रबहादुर घिमिरे (ध्रुव), प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मंगोल नेसनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेसनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजाको उम्मेदवारी पनि कायमै रहेको छ।
यसैबीच अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएका डा. महावीर पुन पनि म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन्। उनले त्रिभुज चुनाव चिह्न चयन गरेका छन्।
एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दी जिल्लामा छ वटा स्थानीय तह छन्। यहाँ ८६ हजार ३९७ जना मतदाता रहेका छन् भने ८२ मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ।