समानुपातिक बन्द सूचीका तीन उम्मेदवारबारे निर्वाचन आयोगमा उजुरी
काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार राजनीतिक दलहरूले पेस गरेको बन्द सूचीमा सूचीकृत तीन जना उम्मेदवारका बारेमा निर्वाचन आयोगमा उजुरी परेको छ।
निर्वाचन आयोगले आज जारी गरेको विज्ञप्तिअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बन्द सूचीको क्रम संख्या ९७ मा रहेका सिरहाका चन्देश्वर मण्डल, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बन्द सूचीको क्रम संख्या ६२ मा रहेका ललितपुरका जीवन लामा र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट बन्द सूचीको क्रम संख्या ३७ मा रहेका पाख्रिबास–८, धनकुटाका कुमारबहादुर थापाविरुद्ध उजुरी दर्ता भएको हो।
समानुपातिक निर्वाचनतर्फका निर्वाचन अधिकृत तथा आयोगका सचिव कृष्णबहादुर राउतद्वारा जारी विज्ञप्तिमा मण्डल आदिवासी समुदायका व्यक्ति भएकाले उनलाई मधेसी समुदायअन्तर्गत राख्न नमिल्ने भन्दै पिपरा गाउँपालिका–१, महोत्तरीका सन्तोषकुमार साहले उजुरी दर्ता गराएको उल्लेख छ।
यस्तै, ललितपुरका जीवन लामा अपाङ्गता नभएको व्यक्ति भए पनि अपाङ्गता भएको भन्दै सूचीमा समावेश गरिएको दाबी गर्दै तेमाल–२, काभ्रेपलाञ्चोकका रहरसिंह तामाङले उजुरी दिएका छन्।
त्यसैगरी धनकुटाका कुमारबहादुर थापाले उत्तरपानी चियाबगानको जग्गा अनधिकृत रूपमा बेचबिखन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी विचाराधीन रहेको उल्लेख गर्दै पाख्रिबास–५, धनकुटाकी पवित्रा श्रेष्ठले उजुरी दर्ता गराएकी हुन्।
आयोगले सम्बन्धित सबै पक्षलाई आ–आफ्ना सबुद प्रमाणसहित माघ १३ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आयोगमा अनिवार्य रूपमा उपस्थित हुन सूचित गरेको छ।
निर्धारित समयमा उपस्थित नभए कानुनबमोजिम प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।