पूर्वी डीआर कङ्गोमा बाढी र पहिरो, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता
३० पुस — पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआर कङ्गो) मा भारी वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्।
स्थानीय अधिकारीहरूका अनुसार उत्तर किवु प्रान्तको बुरुत्सी गाउँमा लगातारको भारी वर्षापछि बाढी र पहिरो गएको हो। घटनाका कारण मुख्य सहर गोमा र प्रान्तीय राजधानी वालिकाले जोड्ने प्रमुख सडक सञ्जालमा क्षति पुगेको छ।
सडक अवरुद्ध भएपछि राहत तथा उद्धार कार्य प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ। अधिकारीहरूले केन्द्र सरकारसँग सहयोगको अनुरोध गरे पनि गोमातर्फको सडक बन्द हुँदा खोज तथा उद्धार कार्यमा गम्भीर बाधा पुगेको बताएका छन्।
प्रभावित क्षेत्रमा बेपत्ताहरूको खोजी जारी रहेको जनाइएको छ।