प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु
काठमाडौं — आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ। सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका अधिकारीहरूले भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पुगेर मतपत्र छपाइको निरीक्षण गरेका हुन्।
निरीक्षणपछि प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ सुरु भएको जानकारी दिए। उनका अनुसार मतपत्र छाप्ने काम करिब १५ दिनभित्र सम्पन्न हुनेछ।
भण्डारीले समानुपातिकतर्फका २ करोड ८ लाख ५० हजार मतपत्रको छपाइ कार्य यसअघि नै सम्पन्न भइसकेको बताए। उनले आगामी फागुन ५ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने योजना रहेको पनि जानकारी दिए।
मतदानअघि मतपत्रको सुरक्षा व्यवस्था र निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा गरिएको उनले उल्लेख गरे। यसअघि जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फका करिब ११ लाख नमूना मतपत्र छपाइ गरी निर्वाचन आयोगलाई बुझाइसकेको थियो।