क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बेइजिङ पुगे, राष्ट्रपति सीसँग भेटवार्ता हुने
३० पुस — क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार चीनको राजधानी बेइजिङ आइपुगेका छन्। चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले उनको आगमनको पुष्टि गरेको हो।
प्रधानमन्त्री कार्नीले शुक्रबार चीनका राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ। उनी पछिल्ला आठ वर्षमा चीन भ्रमण गर्ने पहिलो क्यानेडियन प्रधानमन्त्री हुन्। यसअघि गत अक्टोबरमा दक्षिण कोरियामा सम्पन्न एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा दुई नेताबीच भेट भएको थियो।
कार्नीका पूर्ववर्ती प्रधानमन्त्री जस्टिन ट्रुडोले सन् २०१७ को डिसेम्बरमा चीनको भ्रमण गरेका थिए। तर सन् २०१८ मा भ्यानकुभरमा अमेरिकी पक्राउ पूर्जीका आधारमा चिनियाँ प्रविधि कम्पनी हुवावेका एक वरिष्ठ कार्यकारी पक्राउ परेपछि र त्यसको जवाफी कदमस्वरूप चीनले जासुसीको आरोपमा दुई क्यानेडियाली नागरिकलाई हिरासतमा लिएपछि दुई देशबीचको सम्बन्ध तनावग्रस्त बनेको थियो।
हालैका वर्षहरूमा चीनले क्यानडाको चुनाव प्रक्रियामा हस्तक्षेप गरेको आरोप पनि उठ्दै आएको छ।
राष्ट्रपति सी चिनपिङसँगको भेटवार्ताबाहेक प्रधानमन्त्री कार्नीले चिनियाँ प्रधानमन्त्री ली चियाङ र विभिन्न व्यापारिक नेताहरूसँग व्यापारसम्बन्धी छलफल गर्ने कार्यक्रम रहेको छ। बेइजिङले यसै हप्ता कार्नीको भ्रमणलाई उच्च महत्वका साथ लिएको जनाएको छ।