लुम्बिनी प्रदेश सभा बैठक बस्दै
लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा विविध महत्त्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ।
बैठकमा सर्वप्रथम प्रदेश सभा सदस्यको स्थान रिक्त भएको सम्बन्धी जानकारी सभामुखले सभालाई गराउने छन् । त्यसपछि सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ।
कार्यसूचीअनुसार “जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” प्रदेश सभामा पेस गरिनेछ। यस्तै, मुख्यमन्त्रीले प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको “लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक” माथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गर्नेछन् र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम तय भएको छ।
प्रदेश सभा सचिवालयका अनुसार आजको बैठक प्रदेशका नीति, कानुन तथा संस्थागत विकाससँग सम्बन्धित विषयमा केन्द्रित रहनेछ।