कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष नियुक्त
काठमाडौँ । पूर्वऊर्जामन्त्री कुलमान घिसिङ उज्यालो नेपाल पार्टी (उनेपा) को अध्यक्ष नियुक्त भएका छन्। शनिबार बसेको उनेपाको केन्द्रीय कमिटी बैठकले घिसिङलाई पार्टी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि उनेपाका संरक्षक रहेका घिसिङले दुई साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकताको घोषणा गरेका थिए। तर शनिबार उक्त एकता एकाएक भङ्ग भएपछि घिसिङ उनेपाको अध्यक्ष बनेका हुन्।
रास्वपा सभापति रवि लामिछाने र घिसिङबीच शुक्रबार र शनिबार भएको छलफल निष्कर्षविहीन भएपछि दुई सातामै पार्टी एकताको सहमति भाँडिएको बताइएको छ।
सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा दलीय प्रतिनिधित्व गरेको भन्दै चर्को आलोचना भएपछि घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित तीन मन्त्रालयबाट राजीनामा दिएका थिए। त्यसपछि उनी रास्वपासँग पार्टी एकताका लागि वार्तामा बसेका थिए।
पुस १४ गते उनेपाका संरक्षक घिसिङ र रास्वपा सभापति लामिछानेबीच पार्टी एकतामा सहमति भएको थियो। सोही सहमतिअनुसार घिसिङलाई रास्वपाको उपसभापति बनाउने निर्णयसमेत भएको थियो।
तर घिसिङले रास्वपासँग पार्टीको विचारधारा परिवर्तन गरी लोकतान्त्रिक नभई वामपन्थी पार्टी बनाउनुपर्ने, केन्द्रीय सदस्य ३३ जना हुनुपर्ने, वरिष्ठ उपसभापति र एक महामन्त्री पद दिनुपर्ने तथा पार्टीको विचारधारा समाजवाद राख्नुपर्ने प्रस्ताव राखेपछि विवाद चर्किएको थियो।
सुदन गुरूङको पहलमा बौद्धमा एकताको सहमति जुटाइए पनि विचारधारासहितका विषयमा सहमति हुन नसक्दा कुलमान र रास्वपाबीचको एकता भङ्ग भएको हो। अब कुलमान घिसिङले उज्यालो नेपाल पार्टीलाई नेतृत्व गर्दै अघि बढ्ने भएका छन्।