एनआरएनए विश्व सम्मेलन तयारीका लागि उच्चस्तरीय आयोजक समिति गठन
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन गरिएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार आगामी फागुन २९ देखि चैत २, २०८२ (मार्च १४ देखि १६, २०२६) सम्म नेपालमा आयोजना हुने विश्व सम्मेलनको तयारी तथा व्यवस्थापनका लागि परराष्ट्र मन्त्रीस्तरको निर्णयअनुसार उक्त समिति गठन गरिएको हो।
सम्मेलनलाई सफल, प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न सरोकारवाला निकायहरूको सहभागिता सुनिश्चित गरिएको मन्त्रालयले जनाएको छ।
आयोजक समितिमा राष्ट्रिय योजना आयोग, परराष्ट्र, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन मन्त्रालयका सचिवहरू, नेपाल लगानी बोर्ड, श्रम आप्रवासन तथा आर्थिक कूटनीति महाशाखाका प्रतिनिधि, उद्योग वाणिज्य क्षेत्रका शीर्ष संस्थाका अध्यक्षहरू तथा गैरआवासीय नेपाली संघका पदाधिकारीहरू सदस्य रहेका छन्।