नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ भर्ना खुला
काठमाडौं — सरकारी स्वामित्वको गोरखापत्र संस्थानले नौ वर्षपछि नयाँ भर्ना खुला गरेको छ। संस्थानले लोक सेवा आयोगबाट स्वीकृत वार्षिक कार्यतालिका अनुसार रिक्त पदमा शुक्रबार सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो।
संस्थान प्रमुख एवं महाप्रबन्धक लालबहादुर ऐरीको पहलमा लामो समयदेखि नियमित हुन नसकेको पदपूर्ति र बढुवा प्रक्रिया समेत खुला गरिएको छ। महाप्रबन्धक ऐरीका अनुसार यसले संस्थाको कार्यसम्पादन र प्रशासनिक संरचनामा जीवन्तता ल्याउने विश्वास गरिएको छ।
संस्थानले प्रशासन, प्राविधिक र पत्रकारिता सेवामा नयाँ भर्ना खुला गरेको छ। खुला प्रतियोगितात्मक परीक्षामा ९१ जना र आन्तरिक प्रतियोगितात्मक परीक्षामा १८९ गरी कुल २८० जनाको भर्ना खुला गरिएको छ।
विभिन्न पदहरूमा नायब कार्यकारी निर्देशक, समाचारदाता (नेपाली तथा अंग्रेजी), फोटो पत्रकार र प्रशासनका विभिन्न तहका कर्मचारी माग गरिएको छ।
खुला प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त फाराम आगामी फागुन ७ गतेसम्म बुझाउनुपर्ने छ। दोब्बर दस्तुर तिरी फागुन १४ गतेसम्म फाराम बुझाउन सकिने संस्थानले जनाएको छ। इच्छुक उम्मेदवार संस्थानको वेबसाइटबाट फाराम डाउनलोड गरी पासपोर्ट साइज फोटोसहित केन्द्रीय कार्यालय, धर्मपथ, काठमाडौंमा बुझाउन सक्नेछन्।