आईएमएफको प्राविधिक टोलीद्वारा नेपालमा सुशासन जोखिम अध्ययन सुरु
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एक प्राविधिक टोलीले नेपालमा सुशासनका कमजोरी र सम्भावित जोखिम पहिचान गर्न प्रारम्भिक अध्ययन सुरु गरेको छ।
नेपाल सरकारको अनुरोधमा सुशासन र भ्रष्टाचार निदान (गभर्नेन्स एन्ड करप्सन डायग्नोस्टिक– जीसीडी) को प्रारम्भिक अध्ययन गर्न जोनाथन पम्पोलिनाको नेतृत्वमा आएको टोलीले आधारभूत कार्य सम्पन्न गरेको आईएमएफले जनाएको छ। टोली १२ देखि २१ जनवरी २०२६ सम्म काठमाडौंमा रहँदै विभिन्न सरोकारवालासँग छलफलमा जुटिएको थियो।
आईएमएफका अनुसार अध्ययनको मुख्य उद्देश्य नेपालको अर्थतन्त्रमा चुनौतीका रूपमा देखिएका सुशासनसम्बन्धी क्षेत्र पहिचान गर्नु तथा सुधारका लागि क्रमिक कार्ययोजना प्रस्ताव गर्नु हो।
टोलीले सार्वजनिक वित्त व्यवस्थापन, राजस्व प्रशासन र वित्तीय क्षेत्रको सुपरिवेक्षणजस्ता प्रमुख क्षेत्रमा केन्द्रित रहेर अध्ययन गरेको जनाएको छ। साथै विधिको शासन, सम्पत्ति शुद्धीकरण निवारणको अवस्था तथा विद्यमान भ्रष्टाचारविरोधी कानुनी र संस्थागत संरचनाले नेपालको समष्टिगत आर्थिक लक्ष्य प्राप्तिमा कस्तो भूमिका खेलिरहेका छन् भन्ने विषयमा समेत विस्तृत मूल्यांकन गरिने आईएमएफले स्पष्ट पारेको छ।
जीसीडी प्रक्रियाअन्तर्गत विस्तृत डायग्नोस्टिक प्रतिवेदन तयार गरिनेछ, जसमा सुधारका प्राथमिकता र सिफारिसहरू समेटिने छन्। उक्त प्रतिवेदनले नेपालमा भ्रष्टाचारको प्रकृति र गम्भीरता विश्लेषण गर्नुका साथै पहिचान गरिएका कमजोरी सम्बोधन गर्न स्पष्ट सुधार योजनाहरू अघि सार्ने लक्ष्य राखेको आईएमएफको भनाइ छ।
भ्रमणका क्रममा आईएमएफ टोलीले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत, न्याय परिषद्, लोक सेवा आयोग, महालेखा परीक्षकको कार्यालयलगायत संवैधानिक तथा सरकारी निकायका उच्च अधिकारीहरूसँग सघन छलफल गरेको थियो।
यसका अतिरिक्त राष्ट्रिय योजना आयोग, राष्ट्रिय सतर्कता केन्द्र, वित्तीय सूचना इकाइ, आन्तरिक राजस्व विभाग तथा भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने विशेष अदालतका अधिकारीहरूसँग पनि भेटघाट गरी सुशासनका चुनौतीबारे जानकारी लिएको जनाएको छ।
सरकारी निकायसँगै टोलीले निजी क्षेत्रका व्यावसायिक संगठन, नागरिक समाज र अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग छुट्टाछुट्टै छलफल गरी वस्तुगत धारणा संकलन गरेको थियो।
आईएमएफले अध्ययन प्रक्रियामा नेपाली अधिकारीहरूले देखाएको प्रतिबद्धताको प्रशंसा गर्दै आगामी सहकार्यप्रति आशावादी रहेको जनाएको छ। आईएमएफका अनुसार आगामी केही महिनाभित्र मुख्य जीसीडी टोली नेपाल भ्रमणमा आउने तयारी छ।