अमेरिकाले ७६ नेपाली एकै दिन डिपोर्ट गर्यो
काठमाडौं, ४ पुस – अमेरिकाले अवैध रूपमा बस्दै आएका तथा कानुनको उल्लङ्घन गरेका ७६ नेपालीलाई डिपोर्ट गरेको छ। बिहीबार दिउँसो उनीहरूलाई चार्टर्ड विमानमार्फत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फिर्ता पठाइएको हो।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनीका अनुसार डिपोर्ट हुनेमा ७२ जना पुरुष र ३ जना महिला छन्। उनीहरू अधिकांश अवैध बाटो (तल्लोबाटो) हुँदै अमेरिका पुगेका थिए।
यसमा २ जना भिजिट भिसामा रहेका व्यक्ति र ३० वर्षदेखि अमेरिका बस्दै आएका तर पीआर कार्ड नवीकरण नभएका एक व्यक्ति पनि फिर्ता भएका छन्। पंगेनीका अनुसार, ‘कोही ७ महिना जेल बसेका, कोही २ वर्षसम्म जेल बसेकाहरू पनि छन्। पीआर कार्ड रिन्यु नभएका व्यक्ति पनि फिर्ता भएका छन्।’
डिपोर्ट भएकाहरूले एक करोड रुपैयाँसम्म बिचौलियालाई बुझाएर अमेरिका पुगेको बयान दिएका छन्। यसरी फर्किएकाहरूलाई अध्यागमन कार्यलयले बुझ्ने र थप अनुसन्धानका लागि ब्युरोमा पठाउने जनाएको छ।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति चयन भएयता ३० महिलासहित ४३९ जना नेपाली डिपोर्ट भइसकेका छन्। पछिल्लो ७ वर्षमा ६६६ जना नेपाली डिपोर्ट भइसकेका छन्। यसअघि भदौ १९ गते र जेठ २५ गते पनि ३७–३७ नेपाली डिपोर्ट भइसकेका थिए।
ट्रम्प प्रशासनले कडाइ गर्ने नीति अनुसार एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार बढी आप्रवासीलाई डिपोर्ट गर्ने योजना सार्वजनिक गरेको थियो।