टेलिभिजन कार्यक्रम ‘कठघरा’ बुधबारदेखि हिमालय टिभीमा प्रसारण हुने
काठमाडौं — टेलिभिजन कार्यक्रम ‘कठघरा’ को प्रसारण आउँदो बुधबारदेखि हिमालय टेलिभिजन एचडीमा सुरु हुने भएको छ। कार्यक्रम सोही समयमा ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत पनि स्ट्रिम गरिनेछ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिइएको हो। नेपाली समाजमा उत्तरदायित्व, पारदर्शिता र स्पष्ट सार्वजनिक संवादको आवश्यकता बढ्दै गएको सन्दर्भमा कार्यक्रम ल्याइएको आयोजकले जनाएको छ।
आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कठघरा कुनै साधारण अन्तर्वार्ता कार्यक्रम नभई प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चका रूपमा तयार गरिएको कार्यक्रम हो।’ सार्वजनिक जीवनसँग जोडिएका, सत्तामा रहेका वा प्रभावशाली भूमिकामा रहेका व्यक्तिलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यसहित कार्यक्रमको अवधारणा विकास गरिएको जनाइएको छ।
आगामी निर्वाचन र पछिल्लो समय जेन–जीसहितका युवापुस्ताबाट उठिरहेका आवाज र आन्दोलनले पारदर्शिता तथा जवाफदेही संवादको माग बढाइरहेको अवस्थामा कार्यक्रमले त्यस आवश्यकतालाई सम्बोधन गर्ने विश्वास लिइएको छ।
पत्रकार सम्मेलनमा कार्यक्रमका निर्माता थमनकुमार भण्डारीले कार्यक्रमको उद्देश्य र अवधारणाबारे प्रकाश पारे। कथानक फिल्म निर्माणमा सक्रिय भण्डारी टेलिभिजन कार्यक्रम निर्माणतर्फ पहिलोपटक अग्रसर भएका हुन्। डिजिटल पार्टनर ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवालले ‘कठघरा’ ले नेपाली सार्वजनिक बहसमा नयाँ अभ्यास स्थापित गर्ने र उत्तरदायित्वपूर्ण पत्रकारिताप्रतिको प्रतिबद्धता प्रस्तुत गर्ने बताए।
सो अवसरमा हिमालय टेलिभिजन र ओएसआर डिजिटलसँगको औपचारिक प्रसारण सम्झौता पनि आदानप्रदान गरिएको थियो। निर्माता भण्डारीले यी सहकार्यलाई कार्यक्रमको विश्वसनीयता र पहुँच विस्तारको महत्वपूर्ण आधारका रूपमा उल्लेख गरे।
कार्यक्रम कुल १८ एपिसोडको हुनेछ। हरेक बुधबार राति ८ बजेदेखि हिमालय टेलिभिजन एचडी र ओएसआर रियालिटीमार्फत दर्शकले कार्यक्रम हेर्न सक्नेछन्।
कार्यक्रममा कजारिया टायल्स शीर्ष प्रायोजक रहेको छ। इन एसोसिएसन विथ वात्सल्य नेचुरल आइभिएफ, बैङ्किङ पार्टनर एभरेस्ट बैंक, इन्स्योरेन्स पार्टनर नेपाल लाइफ इन्स्योरेन्स, पावर्ड बाई मलको एप तथा को–स्पन्सर टेन प्लास्ट पाइप, ट्याङ्क एन्ड फिटिङ्गस् अन्य साझेदारका रूपमा रहेका छन्।
निर्देशक अमनप्रताप अधिकारीले कार्यक्रमको अवधारणा, संरचना र प्रश्नहरूको दिशाबारे आफ्नो धारणा राखे। कार्यक्रममा न्यायाधीशको भूमिकामा रहेकी अभिनेत्री मिथिला शर्माले निष्पक्षता, विवेक र सन्तुलनको महत्वबारे धारणा व्यक्त गरिन्। कार्यक्रमका सञ्चालक टीकाराम यात्रीले निर्भीक प्रश्न, सत्तासँग प्रत्यक्ष संवाद र जनउत्तरदायित्वलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाए।