भारत–पाकिस्तानबीच युद्ध रोकिदिएको दाबी ट्रम्पको
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः भारत र पाकिस्तानबीच सम्भावित युद्ध रोकिदिएको दाबी गरेका छन्। पेन्सिलभेनियामा आयोजित एक र्यालीमा उनले पछिल्ला १० महिनामा कोसोभो–सर्बिया र भारत–पाकिस्तानसहित आठवटा अन्तर्राष्ट्रिय द्वन्द्व समाधान गराएको दाबी गरे।
उनका अनुसार इजरायल–इरान, इजिप्ट–इथियोपिया तथा अर्मेनिया–अजरबैजानबीचको तनावसमेत आफूले कम गराएको दाबी गर्दै भारतले तेस्रो पक्षीय मध्यस्थता अस्वीकार गर्दै आएको सन्दर्भमा ट्रम्पको टिप्पणी सार्वजनिक भएको हो। मे महिनामा भएको संघर्षविरामपछि उनले दुवै मुलुकबीच शान्ति स्थापना गर्न भूमिका खेलेको दाबी दोहोर्याउँदै आएका छन्।
र्यालीका क्रममा उनले कम्बोडिया–थाइल्याण्ड सीमामा फेरि सुरु भएको द्वन्द्वप्रति दुःख व्यक्त गर्दै आवश्यकता परे फोनमार्फत युद्ध रोकिदिने विश्वास पनि प्रकट गरे। सोमबारदेखि दुवै देशबीच सीमामा पुनः संघर्ष बढेको र मे महिनादेखि हालसम्म ४० भन्दा बढीको मृत्यु भएको बताइन्छ।
ट्रम्पले “हामी सशक्त रूपमा शान्ति स्थापना गरिरहेका छौँ,” भन्दै कम्बोडिया–थाइल्याण्ड विवाद समाधानमा पनि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए।